धानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।
खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ । आजबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू भएको छ ।

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।
कोभिड- १९ विरूद्धको खोप अहिलेसम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रूपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताइन्छ । खोपलाई जनतासमक्ष नि:शुल्क पुर्याउन सरकार प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरेका छन् । उनले कोरोना विरुद्धको खोपले लगाइसकेपछि आफूलाई कुनै स्वास्थ्य समस्या नदेखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरे ।
सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन सुरु गरेको छ । दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।